कच्चा पदार्थ अभावमा पाइप उद्योग ठप्प, खानेपानी पूर्वाधार संकटमा

साझा लाल्टिन संवाददाता

०८ चैत,काठमाडौं पश्चिम एसियामा जारी द्वन्द्वले कच्चा तेल र प्लास्टिकजन्य कच्चा पदार्थको आपूर्ति अवरुद्ध भएपछि नेपालका पाइप उद्योग संकटमा परेका छन्। विशेष गरी एचडीपी (हाइडेन्सिटी पोलिथिन पाइप) उद्योगले ठूलो प्रभाव भोग्दै आएको छ। केही उद्योगहरु बन्द भइसकेका छन् भने अरु संकटको किनारमा पुगेका छन्।

हाइडेन्सिटी पोलिथिन पाइप म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि, “एचडीपी उद्योगमा प्रयोग हुने ग्रानुल्स कच्चा तेलबाट उत्पादन हुने भएकाले, पश्चिम एसियामा तनावका कारण भारत र अन्य तेस्रो मुलुकबाट आयात हुने ढुवानी अवरुद्ध भएको छ। यसकारण केही उद्योगमा कच्चा पदार्थको मौज्दात सकिएको छ भने अरु उद्योग बन्द हुने अवस्थामा छन्।”

एसोसिएसनले भने अनुसार, बजारमा माग–आपूर्तिले मूल्य निर्धारण हुने भएकाले, कच्चा पदार्थको मूल्य करिब ६२ प्रतिशतले बढेको छ। इन्धन मूल्य वृद्धि र अमेरिकी डलरको भाउ वृद्धिले ढुवानी लागत समेत बढाएको छ। यसले पाइपको मूल्यमा पनि वृद्धि गरेको छ।

उद्योगले चेतावनी दिएको छ कि, कच्चा पदार्थको आपूर्ति सहज नहुँदासम्म मूल्य वृद्धि नियन्त्रण गर्न असम्भव छ। यसले देशको खानेपानी र पूर्वाधार विकासमा पनि प्रत्यक्ष असर पार्ने भएको छ। पाइपको अभावले परियोजनाको लागत बढाउने र समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको छ।

एसोसिएसनले खानेपानी कार्यालय, स्थानीय निकाय, गैरसरकारी संस्था र उपभोक्ता समितिसँग भएका सम्झौतामा मूल्य र कार्यसम्पन्न अवधिमा आपसी समझदारीका साथ समायोजन गर्न अपील गरेको छ। साथै बैंक तथा वित्तीय संस्थालाई उद्योगलाई फाइनान्सिङमा सहजता प्रदान गर्न आग्रह गरिएको छ।

संघले उद्योगलाई धैर्य र सुझबुझ अपनाउन समेत अपील गर्दै, “वर्षौंदेखि पाइप उत्पादन तथा वितरणमा संलग्न व्यवसायीले अस्वाभाविक मूल्य वृद्धिमा संलग्न हुनेलाई कानुन बमोजिम कारबाही गरिनेछ” भनेर सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया