८ वैशाख, काठमाडौं,
केराको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको विषयमा नेपाल केरा उत्पादक महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले बजारमा मूल्य वृद्धि हुनुको प्रमुख कारण बिचौलियाको अत्यधिक चलखेल रहेको औंल्याएको हो।
जारी विज्ञप्तिअनुसार किसानले बारीमै पाउने मूल्य र उपभोक्ताले बजारमा तिर्नुपर्ने मूल्यबीच ठूलो अन्तर देखिएको छ, जसले किसान र उपभोक्ता दुवैलाई घाटा भइरहेको महासंघको भनाइ छ। हाल किसानले स्थानीय जात (मालभोग) केरा प्रतिदर्जन ७०–८५ रुपैयाँ र हाइब्रिड केरा ५०–६० रुपैयाँमा बेचिरहेका छन्, तर त्यही केरा बजारमा पुग्दा ३५०–४०० रुपैयाँसम्म पुग्ने गरेको उल्लेख गरिएको छ।
महासंघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार यस्तो अन्तरले बिचौलियाको प्रभाव निकै बलियो रहेको स्पष्ट देखाउँछ। साथै, छिमेकी देशबाट आयात हुने केरामार्फत ‘फ्युजारियम विल्ट’ अर्थात् पानामा रोगको खतरनाक ‘ट्रपिकल रेस–४ (TR-4)’ नेपाल भित्रिन सक्ने जोखिम पनि रहेको चेतावनी दिइएको छ। यसले दीर्घकालमा केरा खेतीमै गम्भीर असर पार्न सक्ने महासंघको चिन्ता छ।
विदेशी केराको आयातमा सरकारले हालै लिएको नियन्त्रणको निर्णयलाई महासंघले सकारात्मक कदमका रूपमा लिएको छ। अहिले उत्पादन कम भएकाले असारसम्म बजारमा संक्रमणकालीन अवस्था रहने पनि जनाएको छ।
महासंघका अनुसार देशभर ४०–५० लाख नयाँ बिरुवा विस्तार भइरहेको छ र उचित नीति तथा सहयोग पाए नेपाल १–२ वर्षमै केरामा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको छ।
यसैबीच, महासंघले प्रभावकारी बजार अनुगमन, बिचौलिया नियन्त्रण, न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि बीमा प्रणाली सुधार तथा गुणस्तरीय बिरुवा र मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।