सुकुमबासी बस्तीमा डोजर चलाएकोप्रति हर्क साम्पाङको आपत्ति, पुनर्वासबिना हटाउनु ‘निरंकुशता’को संकेत

साझा लाल्टिन संवाददाता

काठमाडौँ - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले देशका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर चलाएर गरिब जनतालाई बेघर बनाइएको भन्दै सरकारको कडा आलोचना गरेका छन्।

अध्यक्ष साम्पाङले विज्ञप्ति जारी गर्दै संविधानको धारा ३७(१) ले सुनिश्चित गरेको आवासको हकविपरीत सरकार अघि बढेको भन्दै खेद प्रकट गरेका हुन्। उनले सुकुमबासी बस्तीहरू हटाउँदा उचित क्षतिपूर्ति, पुनर्वास र व्यवस्थित बसोबासको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन्।

विज्ञप्तिमा उनले जनताको घर भत्काउने, जबरजस्ती हटाउने, गालीगलौज गर्ने र सुरक्षा निकाय प्रयोग गरी त्रास सिर्जना गर्ने कार्यले सरकारको निरंकुश चरित्र झल्किएको आरोप लगाएका छन्।

उनका अनुसार दशकौँदेखि बसोबास गर्दै आएका सुकुमबासीहरूले आफ्नो जीवनभरको कमाइ लगाएर घर निर्माण गरेका हुन्, र ती बस्तीहरू राज्य संयन्त्रको मौन सहमति वा इजाजतबिना नबसेको तर्क पनि उनले गरेका छन्।

साम्पाङले उचित व्यवस्थापन नगरी सुकुमबासीलाई बेघर बनाउने कार्यले सुशासन, आर्थिक उन्नति र विकासको लक्ष्य पूरा हुन नसक्ने चेतावनी दिएका छन्। “सुकुमबासीलाई सडक मानव बनाउने नीति सर्वथा गलत हो,” विज्ञप्तिमा उल्लेख छ।

श्रम संस्कृति पार्टीले यस्ता मानव अधिकारविरोधी गतिविधिको सख्त निन्दा गर्दै नागरिक सर्वोच्चताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया