विवादास्पद अभिव्यक्तिपछि दुर्गा प्रसाईं पक्राउ

साझा लाल्टिन संवाददाता

२३ माघ, काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसरका एक अधिकारीले पक्राउ परेको पुष्टि गरे पनि, उनीमाथि लगाइएको अभियोगबारे औपचारिक जानकारी दिइएको छैन।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं यसअघि सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ परेका थिए। माघ ५ गते पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याइएका उनलाई माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।

यसबीच, नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग जोडेर निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर पार्टीको आधिकारिकता लिएको भन्ने अभिव्यक्ति उनले सार्वजनिक रूपमा दिएका थिए। उक्त विषयमा आयोगले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेपछि प्रसाईं फेरि प्रहरीको निगरानीमा परेका हुन्।

प्रतिक्रिया