सदस्यता होल्डमा भए पनि म एमाले नै हो - विद्या भण्डारी

साझा लाल्टिन संवाददाता

वैशाख १८ काठमाडौँ,

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूले नेकपा एमालेको सदस्यता नवीकरण गरिसकेको भए पनि हाल त्यसलाई “होल्ड” मा राखिएको बताएकी छन्। नुवाकोटमा नेता–कार्यकर्तासँगको भेटमा उनले एमाले देशभक्त, राष्ट्रवादी, प्रगतिशील तथा सामाजिक न्यायका पक्षधरहरूको संगठन भएको धारणा राखिन्।

भण्डारीले आफू पार्टीसँग निरन्तर जोडिएको उल्लेख गर्दै, “तपाईंहरूले माने पनि नमाने पनि मैले सदस्यता नवीकरण गरिसकेको छु, अहिले होल्डमा छ,” भनिन्। उनले आफू २०३७ सालदेखि पार्टीमा सक्रिय रहेको स्मरण गराउँदै माले हुँदै एमालेसम्मको यात्रामा आफ्नो निरन्तरता रहेको जिकिर गरिन्।

उनका अनुसार एमालेले अपनाएको जनताको बहुदलीय जनवादको सिद्धान्तको श्रेय मदन भण्डारी लाई जान्छ। उनले मदन भण्डारीसँगको व्यक्तिगत सम्बन्ध र राजनीतिक योगदानका कारण आफू पार्टीसँग विभिन्न रूपमा जोडिएको बताइन्।

भण्डारीले नेपाली जनताको समर्थन, विश्वास र एमालेको संघर्षकै परिणामस्वरूप आफू दुईपटक राष्ट्रपति बन्न सफल भएको उल्लेख गरिन्।

प्रतिक्रिया