२९ चैत,काठमाडौं,
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चैत २३ गते बुझाइएको विवरण अनुसार उनीसँग सुन, नगद मौज्दात, सेयर, पैतृक जग्गा तथा करोडमाथिका सवारीसाधन रहेको देखिएको छ।
दोस्रो पटक सांसद बनेकी गौतम पहिलो पटक मन्त्रीको जिम्मेवारीमा पुगेकी हुन्। सार्वजनिक विवरणले उनको व्यक्तिगत तथा पारिवारिक सम्पत्तिको विस्तृत चित्र प्रस्तुत गरेको छ।
सम्पत्ति विवरणअनुसार चितवनको भरतपुर महानगरपालिकामा ६७७ वर्गमिटर जग्गा उल्लेख गरिएको छ। उक्त जग्गा सासू–ससुराको नाममा रहेको पैतृक सम्पत्ति भएको जनाइएको छ।
नगद मौज्दाततर्फ, मन्त्री गौतमको विभिन्न बैंकमा रकम जम्मा रहेको छ।
- एनआईसी एसिया बैंकमा ३ लाख ६८ हजार रुपैयाँ
- राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८ सय रुपैयाँ
- नबिल बैंकमा ४ लाख ८१ हजार रुपैयाँ
- माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार रुपैयाँ
- ग्लोबल आईएमई बैंकमा ८ हजार २ सय रुपैयाँ
गरगहनातर्फ, उनले विवाहमा प्राप्त १० तोला सुन र पैतृक ५ तोला सुन गरी कुल १५ तोला सुन रहेको खुलाएकी छन्। साथै ९ तोला चाँदी र विवाहमै प्राप्त १ तोला हिरा पनि विवरणमा समेटिएको छ।