युक्रेन–रूस युद्ध अन्त्यका लागि २० बुँदे शान्ति योजना, ट्रम्प–जेलेन्स्की भेट फ्लोरिडामा

साझा लाल्टिन संवाददाता

काठमाडौं - करिब चार वर्षदेखि जारी युक्रेन–रूस युद्ध अन्त्य गर्ने उद्देश्यले युक्रेनले नयाँ २० बुँदे शान्ति योजना अघि बढाएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आइतबार अमेरिकाको फ्लोरिडामा भेटवार्ता हुने भएको छ ।

ह्वाइट हाउसका अनुसार ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडाको पाम बीचमा भेट तय भएको हो । बैठकअघि ट्रम्पले युक्रेन–रूसबीच हुने कुनै पनि सम्भावित शान्ति सम्झौतामा आफू अन्तिम मध्यस्थकर्ताको भूमिकामा रहने दाबी गरेका छन् । उनले शान्ति सम्झौताको लागि आफ्नो स्वीकृति आवश्यक पर्ने बताएका छन् ।

जेलेन्स्कीले वार्तामा संशोधित शान्ति ढाँचा प्रस्तुत गर्ने बताएका छन्, जसमा निशस्त्रीकृत क्षेत्रको प्रस्ताव र अमेरिकी सुरक्षा ग्यारेन्टीबारे छलफल हुने छ । फ्लोरिडा प्रस्थान गर्नुअघि जेलेन्स्की शनिबार क्यानाडामा थिए ।

पत्रकारहरूसँग कुरा गर्दै उनले दुई पक्षबीच सकेसम्म धेरै विषयमा अन्तिम निष्कर्ष निकाल्ने प्रयास रहने बताए । बैठकबाट ठोस सम्झौता हुन्छ वा हुँदैन भन्ने विषयमा भविष्यवाणी गर्न नसक्ने भए पनि ‘नयाँ वर्षअघि धेरै विषयमा निर्णय सम्भव हुने’ उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

ट्रम्पले भने जेलेन्स्कीसँगको भेट फलदायी हुने अपेक्षा व्यक्त गर्दै मस्कोसँग पनि सम्बन्ध सुधार्न आफू खुला रहेको बताएका छन् । शान्ति सम्झौतापछि युक्रेन मात्र होइन, रूस र राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि सम्बन्ध राम्रो हुने उनले विश्वास व्यक्त गरेका छन् । पुटिनसँग जतिसक्दो चाँडो संवाद गर्ने अपेक्षा ट्रम्पले जनाएका छन् ।

फ्लोरिडा बैठकअघि जेलेन्स्कीले कूटनीतिक गतिविधि तीव्र पारेका छन् । उनले नेटो, क्यानडा, जर्मनी, फिनल्याण्ड, डेनमार्क र इस्टोनियाका नेताहरूसँग परामर्श गरी स्थिति समन्वय गरेको जानकारी दिएका छन् । ‘युक्रेन कहिल्यै शान्तिको बाधक बनेको छैन र कहिल्यै बन्ने छैन,’ उनले जोड दिए ।

यो भेट हालै जेलेन्स्की र अमेरिकी विशेष दूत स्टीव विटकफ तथा ट्रम्पका ज्वाइँ जारेड कुशनरबीच भएको संवादपछि तय भएको हो ।

युक्रेनी र अमेरिकी अधिकारीहरूले संयुक्त रूपमा विकास गरेको २० बुँदे शान्ति योजना करिब ९० प्रतिशत तयार भइसकेको जेलेन्स्कीले बताएका छन् । आइतबारको वार्तामा जापोरिजिया आणविक ऊर्जा केन्द्रको व्यवस्थापन र पूर्वी डोनबास क्षेत्रको नियन्त्रणजस्ता संवेदनशील विषयमा पनि छलफल हुने बताइएको छ । डोनबास क्षेत्रमाथि रूसले दाबी गर्दै आएको छ ।

यद्यपि रूसले यस्ता सर्तहरू स्वीकार गर्न इच्छुक रहेको कुनै सार्वजनिक संकेत दिएको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनका वरिष्ठ विदेश नीति सहयोगी युरी उशाकोभले पछिल्लो प्रस्तावबारे ट्रम्प प्रशासनका सदस्यहरूसँग कुराकानी गरेका छन् ।

प्रतिक्रिया