१५ फागुन,काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्वको अवसरमा सार्वजनिक भीडभाड र चुनावी गतिविधि मिसिन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै विशेष प्रतिबन्ध लगाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्ष होलीमा खुला सडक तथा सार्वजनिक स्थलमा मञ्च बनाएर सांगीतिक कार्यक्रम, मेला–महोत्सव तथा भीड जम्मा गर्ने गतिविधि नगर्न निर्देशन दिएको हो।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आसन्न निर्वाचनको सुरक्षा र आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि यस्तो निर्णय गरिएको हो। जारी सूचनामा खुला स्थानमा भीडभाड, मादक पदार्थको बिक्री–वितरण तथा सेवन, र निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ।
प्रशासनले होलीको नाममा चुनाव प्रचार हुन सक्ने आशंका गर्दै निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, स्टिकर तथा विभिन्न प्रकारका लुगा–टोपी प्रयोगमा रोक लगाएको छ। उम्मेदवारको तस्वीर वा चुनाव चिह्न अंकित टिसर्ट, कमिज, गम्छा, ज्याकेट, ब्याच, मास्क, लकेट वा झोला बोक्न समेत निषेध गरिएको छ।
यसैगरी, होली मनाउने क्रममा कसैको इच्छा विपरीत रंग, अबिर दल्ने वा लोला हान्ने कार्य पनि पूर्णरुपमा निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ।