रास्वपामाथि कडा आरोप लगाएकी सुमनाको यू–टर्न, समानुपातिक टिकटको दौडमा

साझा लाल्टिन संवाददाता

१३ पुस, काठमाडौं - जेन–जी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी बाट बाहिरिएकी पूर्वमन्त्री सुमना श्रेष्ठ पुनः सोही दलमा फर्किने तयारीमा रहेको स्रोतले जनाएको छ। काठमाडौं महानगरका मेयर बालेन साहको राजनीतिक टिममार्फत उनी रास्वपामा पुनः समाहित हुन लागेकी हुन्।

पार्टीभित्र व्यक्तिकेन्द्रित प्रवृत्ति हाबी भएको, असहमतिको स्थान साँघुरिँदै गएको र आफूमाथि नियोजित मिडिया ट्रायल गरिएको आरोप लगाउँदै सुमनाले गत भदौ २९ गते रास्वपा परित्यागको घोषणा गरेकी थिइन्। त्यसयता उनले वैकल्पिक राजनीतिक शक्ति निर्माणको सम्भावनाबारे कुलमान घिसिङ, सुदन गुरुङ र बालेन साहसँग निरन्तर छलफल गर्दै आएकी थिइन्।

हालै रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच सहकार्यमा सहमति जुटेपछि सुमनाको पुनरागमनको बाटो खुलेको बताइन्छ। स्रोतका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा उनलाई बालेन पक्षको सिफारिसमा समानुपातिकतर्फ उम्मेदवार बनाइने सम्भावना बलियो छ।

राजनीतिक वृत्तमा यसलाई रास्वपा र बालेन समूहबीचको सहकार्य विस्तारको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया