बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

साझा लाल्टिन संवाददाता

काठमाडौं अविरल वर्षाका कारण बढेको रोशी खोलाको बहाव घटेसँगै अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। खोलाले बगाएको स्थानमा मर्मत कार्य सम्पन्न गरेपछि सवारी साधन आवागमन सुरु गरिएको हो।

यद्यपि वर्षा हुने सम्भावना अझै कायम रहेकाले सावधानीपूर्वक यात्रा गर्न र राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले आग्रह गरेको छ।

कार्यालयका प्रमुख एसपी कोमल शाह का अनुसार काभ्रेपलाञ्चोक खण्डअन्तर्गत रोशी गाउँपालिकाका चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएका अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको थियो। सडक विभाग र स्थानीय तहसँगको समन्वयमा ती स्थानमा पुनः सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध हुँदा काभ्रे खण्डतर्फका सवारीसाधनलाई धुलिखेल, भकुण्डे र कटुन्जेमा रोकिन लगाइएको थियो भने सिन्धुली खण्डबाट आउने सवारीलाई दुम्जा प्रहरी चौकी र सिन्धुलीका चेकपोस्टमा रोकिएको थियो।

यसअघि २०८१ र ०८२ सालमा आएको वर्षाले रोशी खोलाले बीपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड बगाएपछि सो भाग अहिले पुनर्निर्माणको चरणमा छ। निर्माणकै क्रममा खोलाको बगरमा डाइभर्सन बनाएर सवारी सञ्चालन भइरहेको छ।

प्रतिक्रिया