दाङमा सार्वजनिक जग्गा अतिक्रमण हटाउन प्रशासन सक्रिय

साझा लाल्टिन संवाददाता

१५ वैशाख,काठमाडौं

दाङमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध कडाइ सुरु हुने संकेत देखिएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई छलफलका लागि बोलाउँदै आवश्यक निर्देशन जारी गरेको हो।

यो पहल संघीय सरकारले चैत्र १४ गते अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीसँग जोडिएको छ। सो कार्यसूचीको ९२ नम्बर बुँदामा नयाँ अतिक्रमण रोक्ने र अतिक्रमण गरेर बनाइएका संरचना हटाउने काम तत्काल अघि बढाउने स्पष्ट उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार यही नीतिगत आधारमा पालिकाहरूसँग समन्वय गर्न छलफल आयोजना गरिएको हो। बैठक बिहान सवा १० बजे स्वास्थ्य कार्यालयको सभाहलमा बस्ने तय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय संघीय सरकारको जिल्लास्तरीय प्रतिनिधि भएकाले यसको पहललाई अतिक्रमण नियन्त्रणतर्फको औपचारिक सुरुवातका रूपमा हेरिएको छ।

प्रतिक्रिया