१४ वैशाख,काठमाडौं
श्रम संस्कृति पार्टीले देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई एकीकृत गर्ने उद्देश्यसहित देशव्यापी संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ।
सरकारले सुकुम्बासी बस्ती हटाउने कार्यलाई तीव्रता दिएपछि त्यसको प्रतिवादस्वरूप पार्टीले आफ्ना जिल्ला तथा पालिका तहका संरचनालाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिएको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङले विभिन्न स्थानमा छरिएर रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई एक ठाउँमा ल्याउँदै अभियानलाई सशक्त बनाउन आग्रह गरेका छन्।
उनका अनुसार देशभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीको एकता अभियानलाई अघि बढाउन सबै तहका पार्टी संरचनालाई परिचालन गरिएको हो।
साम्पाङले देश श्रमिक वर्गको पनि भएकाले उनीहरूको अधिकार र सुरक्षाका लागि संगठित भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्। साथै उनले सुकुम्बासीहरूलाई सचेत र संगठित रहन पनि आह्वान गरेका छन्।