पार्टी बैठकम बालेन शाह अनुपस्थित, महामन्त्री भन्छन् - ‘आवश्यकता अनुसार मात्र’

साझा लाल्टिन संवाददाता

१४ वैशाख,काठमाडौं

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पछिल्लो समय पार्टीका नियमित बैठकहरूमा सहभागी हुन छाडेका छन्।

पुस १३ गते रास्वपा सभापति रवि लामिछानेसँग भएको ७ बुँदे सहमतिपछि बालेनलाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो। सो सहमतिअनुसार रवि लामिछाने पार्टी सभापति रहने र बालेनलाई नेतृत्व तहमा अघि सार्ने समझदारी भएको बताइएको थियो।

काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट माघ ४ गते राजीनामा दिएपछि बालेनले झापा–५ बाट रास्वपाको उम्मेदवारी दिएका थिए। त्यसै दिन उनले वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेताको जिम्मेवारी समेत ग्रहण गरेका थिए।

माघ ५ मा जनकपुरधाममा आयोजित ‘परिवर्तन उदघोष सभा’लाई सम्बोधन गरेपछि उनी चुनावी प्रचारमा सक्रिय भए। तर त्यसपछि पार्टीका नियमित गतिविधि र बैठकहरूमा उनको उपस्थिति घट्दै गएको देखिएको छ।

फागुन २१ को निर्वाचनमा उनले केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेको र रास्वपाले १८२ सिट जितेको उल्लेख छ। निर्वाचनपछि चैत १२ मा भएको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सहभागी भए पनि त्यसयता धेरै बैठकमा उनी अनुपस्थित देखिएका छन्।

चैत १ को सचिवालय बैठक, चैत ३–४ को प्रशिक्षण कार्यक्रम तथा चैत १९ को संसदीय दल बैठकमा बालेन उपस्थित भएनन्। तर चैत २७ र वैशाख ३ का संसदीय दलका बैठकहरूमा भने उनी सहभागी भएको बताइएको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बालेन आमन्त्रित केन्द्रीय सदस्य तथा वरिष्ठ नेता भएकाले सबै बैठकमा अनिवार्य उपस्थिति आवश्यक नभएको बताएका छन्। आवश्यक परेमा बोलाइएका बैठकमा उनी सहभागी हुने उनको भनाइ छ।

रास्वपाको आधिकारिक संरचनामा बालेनलाई रवि लामिछानेपछि दोस्रो वरीयतामा राखिएको छ भने केन्द्रीय समितिमा उनलाई आमन्त्रित वरिष्ठ नेताका रूपमा सूचीकृत गरिएको छ।

प्रतिक्रिया