माइतीघर काण्ड: महेश बस्नेतकी पत्नीसहित १० विरुद्ध ‘ज्यान मार्ने उद्योग’ जाहेरी

साझा लाल्टिन संवाददाता

१५ वैशाख,काठमाडौं

धादिङकी शोभा पाठकले काठमाडौंको माइतीघरमा भएको झडपपछि एमाले सचिव महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी (बस्नेत)सहित १० महिलाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गरेकी छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा दायर गरिएको उक्त जाहेरीमा पाठकले केही अभियुक्तको नाम, ठेगाना, अभिभावकको विवरण र सम्पर्क नम्बरसमेत उल्लेख गरेकी छन् भने करिब आधा दर्जन व्यक्तिलाई अनुहारबाट चिन्ने तर नाम थाहा नभएको उल्लेख गरेकी छन्।

घटना हिजो माइतीघर क्षेत्रमा भएको हो, जहाँ पाठक र अम्बिका बस्नेतबीच सडकमै कपाल तानातान र लछारपछार हुने अवस्था सिर्जना भएको थियो। उक्त झडपमा दुबै पक्षका अन्य व्यक्तिहरू पनि संलग्न रहेको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

घटनापछि प्रहरीले बस्नेतसहित केहीलाई नियन्त्रणमा लिएको थियो भने घाइते पाठक उपचारका लागि अस्पताल पुगेकी थिइन्। अस्पतालबाटै उनले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध आक्रमण भएको दाबी गर्दै कानुनी प्रक्रियामा जाने संकेत गरेकी थिइन्।

जाहेरीमा समावेश अधिकांश व्यक्तिहरू भक्तपुर क्षेत्रका महिला रहेको उल्लेख गरिएको छ, जसको परिचय खुल्ने विस्तृत विवरणसमेत निवेदनमा समेटिएको छ।

प्रतिक्रिया