सरकारले देशभर सुकुमबासी बस्ती हटाउने अभियान तीव्र बनाइरहेका बेला धरानमा भने फरक सन्देश देखिएको छ। धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाले आफ्नो कार्यकालभर डोजर नचल्ने स्पष्ट अडान लिएका छन्।
आइन्द्रविक्रम बेघाले नेपाल बसोबास बस्ती संरक्षण समाजबाट ज्ञापनपत्र बुझ्दै सुकुमबासी बस्तीमाथि बल प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन्। उनका अनुसार, आफू नेतृत्वमा रहुञ्जेल धरानमा कसैलाई घरबारविहीन बनाउने कदम चालिने छैन।
संघीय सांसद बनेपछि हर्क साम्पाङको स्थानमा नेतृत्व सम्हालिरहेका बेघाले “मेरो क्षेत्राधिकारभित्र डोजर चल्दैन” भन्दै संघीय निकायबाट आएका निर्देशनसमेत अस्वीकार गर्ने संकेत दिएका छन्। गृह प्रशासन र प्रहरीबाट बस्ती हटाउन पत्र आएको जानकारी दिँदै उनले त्यसलाई कार्यान्वयन नगर्ने अडान दोहोर्याएका छन्।
सुकुमबासी अगुवाहरूले काठमाडौंमा भइरहेको बस्ती हटाउने घटनापछि आफूहरू त्रसित रहेको भन्दै धरानमा भने राहत महसुस गरेको बताएका छन्। बेघाले पनि यो विषयलाई केवल राजनीतिक नभई मानवीय र कानुनी रूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
धरानमा करिब १५ हजारभन्दा बढी सुकुमबासी रहेको उल्लेख गर्दै उनले सबैलाई संयमित रहन आग्रह गरेका छन्। “उपमहानगरपालिका अभिभावक हो, आत्तिनु पर्दैन,” भन्दै उनले स्थानीयलाई ढाडस दिएका छन्।