२१ चैत,काठमाडौं - काठमाडौंमा प्रहरीले व्यापक सुरक्षा कारबाही गर्दै रातभर विशेष सर्च अपरेशन सञ्चालन गरेको छ। उक्त अभियान अन्तर्गत विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार गुण्डागर्दी, ठगी तथा बिचौलियाको भूमिकामा सक्रिय रहेका व्यक्तिहरूलाई लक्षित गरी यो अपरेशन सञ्चालन गरिएको हो। सो क्रममा काठमाडौंका विभिन्न स्थानबाट कुल १९५ जनालाई पक्राउ गरिएको छ।
विशेष गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र बुढानीलकण्ठ क्षेत्रलाई केन्द्रमा राखेर गरिएको कारबाहीमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ। प्रहरीका अनुसार यस्ता व्यक्तिहरूले सर्वसाधारणलाई हैरानी दिने, ठगी गर्ने तथा अवैध चलखेलमा संलग्न रहने गरेका थिए।
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ। साथै, यस्ता अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने संकेत दिएको छ।