एकल निर्णय प्रक्रियाविरुद्ध एमाले सिरहामा विद्रोह,विभिन्न तहका नेता–कार्यकर्ताको सामूहिक राजीनामा

साझा लाल्टिन संवाददाता

२१ माघ, काठमाडौं - नेकपा (एमाले) सिरहाका विभिन्न तहका नेता तथा कार्यकर्ताले पार्टीसँगको सम्पूर्ण सम्बन्ध तोड्दै सामूहिक राजीनामा दिएका छन्। बुधबार गोलबजार नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरूले साधारण सदस्य समेत नरहने घोषणा गरेका हुन्।

राजीनामा दिने नेताहरूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको, नेतृत्वमा स्वेच्छाचारिता हाबी भएको र निर्णय प्रक्रिया सीमित व्यक्तिको नियन्त्रणमा सिमित भएको आरोप लगाएका छन्।

उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जनताको नाममा राजनीति गर्ने दाबी गरिए पनि व्यवहारमा केही व्यक्तिको स्वार्थले पार्टी सञ्चालन भइरहेको अवस्था हामीलाई स्वीकार्य भएन।”

संगठनभित्रै रहेर सुधारको प्रयास पटक–पटक गरिए पनि नेतृत्वले गम्भीरतापूर्वक नसुनेको र इमानदार कार्यकर्तालाई पन्छाउने प्रवृत्ति बढेको उनीहरूको गुनासो छ। आलोचनालाई दबाउने र असहमतिलाई दण्डित गर्ने संस्कार बलियो बन्दै गएको पनि उनीहरूले उल्लेख गरेका छन्।

राजीनामा दिनेमा प्रदेश कमिटी सदस्य पुष्पलाल पाख्रिन, पूर्व जिल्ला कमिटी सदस्य माधवबहादुर बुढाथोकी, बुद्धिजीवी तथा शिक्षक जनसंगठन प्रदेश सदस्य भीमबहादुर थापा रहेका छन्। यसैगरी जिल्ला तहबाट धनराज यादव, तुलसीप्रसाद उपाध्याय, प्रमोदकुमार लामा, तेजकुमार लामा, राजकरण साह, नगर कमिटी सचिवालय सदस्य रन्जितकुमार लामा तथा नगर सदस्य ताराबहादुर तामाङ, किरणकुमार स्याङ्वा र राजकुमार महतोले पनि पार्टी परित्याग गरेका छन्।

प्रतिक्रिया