रास्वपा अभिमुखीकरण सुरु, उद्घाटनमै लामिछाने–बालेन अनुपस्थित

साझा लाल्टिन संवाददाता

०३ चैत,काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा जारी कार्यक्रमको उद्घाटन सत्र भने केही फरक दृश्यसहित अघि बढ्यो। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उद्घाटनमा अनुपस्थित रहे।

कार्यक्रमको औपचारिक सुरुवात उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा घन्टी बजाएर गरेका हुन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति अर्यालले सभापति लामिछाने र नेता शाहको अनुपस्थितिबारे स्पष्ट पार्दै उनीहरूलाई कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको बताए। उनले दुवै नेताको स्वास्थ्य अवस्था र उच्च कार्यव्यस्तताका कारण तत्काल उपस्थित हुन नसकेको जानकारी दिए।

‘समापन सत्रअघि उहाँहरूलाई उपस्थित गराउने प्रयास गरिरहेका छौं,’ अर्यालले भने।

भोलिसम्म सञ्चालन हुने यस अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित रास्वपा सांसदहरूको सहभागिता रहेको छ। कार्यक्रमको समापन सत्रमा सभापति लामिछानेले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ।

प्रतिक्रिया