रञ्जित तामाङको ‘भिजन–७’ सार्वजनिक, ५ वर्षमा १७० गौरव आयोजना पूरा गर्ने लक्ष्य

साझा लाल्टिन संवाददाता

३ फागुन,काठमाडौं - झापा–५ का प्रतिनिधिसभा उम्मेदवार रञ्जित तामाङ (नेकपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै ‘झापा–५ भिजन–७’ सार्वजनिक गरेका छन्। दमकमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको उक्त भिजनमा क्षेत्रको समग्र विकासका लागि ७ प्रमुख भिजन, ३५ मिसन र २१ लक्ष्य तय गरिएको जानकारी दिइएको छ।

राजनीतिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिने झापा–५ लाई नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्यसहित शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–व्यवसाय, भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई प्राथमिकतामा राखिएको छ।

शिक्षा क्षेत्र सुधारलाई पहिलो प्राथमिकता दिँदै क्षेत्रका ८७ सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको रोजाइको केन्द्र बनाउने लक्ष्य लिइएको छ। साथै, दमक बहुमुखी क्याम्पसलाई स्तरोन्नति गरी दीर्घकालमा विश्वविद्यालयका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। गौरादह र गौरीगन्जका बहुमुखी क्याम्पस तथा गौरादह कृषि क्याम्पसलाई समयानुकूल परिमार्जन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्र बनाउने लक्ष्यसमेत उल्लेख गरिएको छ।

स्वास्थ्य क्षेत्रमा सुविधा सम्पन्न अस्पताल स्थापना गरी आधुनिक उपचार प्रविधि भित्र्याउने प्रतिबद्धता जनाइएको छ। कृषि, उद्योग र व्यवसाय प्रवर्द्धनमार्फत युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने, सहकारी क्षेत्र सुदृढ गर्ने र औद्योगिकीकरणलाई प्राथमिकता दिँदै राष्ट्रिय पुँजीको संरक्षण र प्रवर्द्धन गर्ने नीति अघि सारिएको छ।

भौतिक पूर्वाधार विकासतर्फ १८ तले व्यापारिक कम्प्लेक्स सञ्चालन, विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणका लागि अध्ययन तथा औद्योगिक ग्राम स्थापना जस्ता महत्त्वाकांक्षी योजना समावेश गरिएका छन्।

भिजनअनुसार आगामी पाँच वर्षभित्र १७० गौरव आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। क्षेत्रका २९ वडामा हरेक वर्ष २९ आयोजना, चारवटा स्थानीय तहमा वार्षिक चार–चार आयोजना र क्षेत्रीय स्तरमा प्रत्येक वर्ष एक आयोजना कार्यान्वयन गर्ने योजना सार्वजनिक गरिएको छ।

तामाङले योजनाबद्ध विकास, रोजगारी सृजना र सुशासनलाई केन्द्रमा राख्दै झापा–५ लाई नमुना क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘भिजन–७’ अघि सारिएको स्पष्ट पारे।

प्रतिक्रिया