१० असोज, काठमाडौं - नेपालीहारको महान चाड दशैँ नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेको संख्या बढेको छ । पछिल्लो केही दिनमै साढे चार लाख उपत्यकाबाट बाहिरिएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले भोलिदेखि घर जानेको संख्या झनै बढ्ने बताए । उनले भने,‘अहिलेसम्म साढे चार लाखले उपत्यका छोडिसकेका छन् । भोलिदेखि छुट्टी हुने भएकाले घर जानेको संख्या झनै बढ्छ ।’
हरेक वर्ष दशैंमा झण्डै २५ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोड्ने गरेका छन् । घर जानेलाई लक्षित गरी यातायात व्यवस्था विभागले प्रत्येक वर्ष अग्रिम टिकट बुकिङ्ग खोल्ने गरेकोमा यस वर्ष नखोलेको हो ।
जसका कारण कम्पनीहरुले आफैं टिकट खोलेका छन् । विभागले घटस्थापनादेखि असोज २२ गतेसम्मका लागि रुट परमिट खोलेकोमा उपत्यकाभित्र सञ्चालित सवारी साधनहरु पनि जिल्ला जान थालेका छन् ।
26 September 2025