नेपाल विद्युत प्राधिकरणले कर्मचारीको सामाजिक सञ्जाल प्रयोगमा कडाइ

साझा लाल्टिन संवाददाता

 २५ माघ, काठमाडौं - नेपाल विद्युत प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा थप अनुशासन र मर्यादा पालना गर्न निर्देशन दिएको छ। कार्यालयको काम, आन्तरिक पत्राचार तथा प्रतिष्ठामा असर पर्ने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि प्राधिकरणले कडाइ गरेको हो।

प्राधिकरणको प्रशासन निर्देशनालयले मातहतका सबै निर्देशनालयलाई पत्र पठाउँदै कार्यालयसम्बन्धी पत्र, सूचना तथा अनावश्यक सामग्री सामाजिक सञ्जालमा नराख्न स्पष्ट निर्देशन दिएको छ। साथै, सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदा पनि जिम्मेवार र व्यवस्थित हुन कर्मचारीलाई सचेत गराइएको छ।

‘नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ (संशोधनसहित)’ को परिच्छेद १३ मा उल्लेखित कर्मचारीले पालना गर्नुपर्ने शर्तहरूको स्मरण गराउँदै निर्देशन उल्लङ्घन गर्ने कर्मचारीमाथि विभागीय कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्राधिकरणका अनुसार तथ्य प्रमाणित नभएका, काल्पनिक तथा समाज र कार्यालयको प्रतिष्ठामा आँच पुग्ने सामग्री सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पोष्ट हुँदा कार्यालयको कार्यसम्पादन र वातावरणमा नकारात्मक असर परेको छ।

प्रशासन निर्देशनालयले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा कार्यालयका पत्र तथा अन्य अनावश्यक पोष्ट नराख्न सूचित गर्दै, यस्ता सामग्री पोष्ट गर्ने वा त्यसमा प्रतिक्रिया दिने कर्मचारीको विवरण संकलन गरी विनियमावलीअनुसार कारबाही गरिने उल्लेख गरिएको छ। उक्त निर्णय उपकार्यकारी निर्देशक (प्रशासन) बाट मिति २०८२–१०–२१ मा गरिएको हो।

प्रतिक्रिया