९ फागुन,काठमाडौं - नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनपछि मुलुकको नेतृत्व आफ्नै पार्टीले गर्ने दाबी गरेको छ। शनिबार ललितपुरस्थित च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले एमाले पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे।
प्रचार–प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले विगतका कामको उपलब्धि र घोषणापत्रमार्फत गरेका प्रतिबद्धताका आधारमा एमाले सर्वाधिक लोकप्रिय दलका रूपमा उदाउने दाबी गरे। उनका अनुसार लोकतन्त्रको सुदृढीकरण, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानवअधिकार र सामाजिक न्यायका मुद्दामा पार्टीको स्पष्ट धारणा भएकाले मतदाताले समर्थन गर्नेछन्।
एमालेले आफ्नो पक्षमा जनलहर बढ्दै गएको दाबी गर्दै निर्वाचन प्रभावित पार्ने प्रयास हुन सक्ने आशंका पनि व्यक्त गरेको छ। शाहीले निर्वाचन निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको षड्यन्त्रप्रति सतर्क रहेको बताए।
पार्टीले फागुन २१ पछिको नेतृत्व पनि आफ्नै अध्यक्ष केपी शर्मा ओलीकै हातमा रहने उल्लेख गरेको छ। “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय लक्ष्यलाई अगाडि बढाउन ओलीकै नेतृत्वमा सरकार गठन गर्ने एमालेको दाबी छ।