काठमाडौँ १५ भदौ - नेपाल राष्ट्र बैंकले दसैँका लागि यही भदौ २९ देखि असोज १० गतेसम्म नोट वितरण गर्ने भएको छ। काठमाडौं थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरु विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट एकैसाथ सर्वसाधारणका लागि सुकिला नोट सटही हुनेछ।
सुकिलो नोट वितरण गर्ने भनिएपनि यसवर्ष रुपैयाँ पाँच दरका भने नयाँ नोट सर्वसाधारणलाई प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । सो दरका सुकिला नोट पर्याप्त नभएकाले नयाँ वितरण गरिने बताइएको छ ।
यस्तै, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका शाखाहरुबाट पनि नोट सटही गर्न राष्ट्र बैंकले जनाएको छ । यस वर्ष पनि सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक/एक बन्डल नोट सटही गर्न पाउँछन् । तर, नागरिकको माग भएमा आवश्यकताका आधारमा त्यो भन्दा बढी रकम पनि सटही सुविधा दिन सकिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रामु पौडेलले बताए ।
गत वर्षदेखि राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्दै आएको छ । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको राष्ट्र बैंकको तर्क छ । डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिदै आएको छ । दसैं, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।
खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएका राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का, चाँदीका स्मारिका सिक्का र सुनका असर्फी पनि धेरै बिक्री हुँदै आएको छ ।