ओखलढुंगामा हराएका १८८ मत समानुपातिक बाकसमा भेटिए प्रत्यक्षतर्फका मतपत्र

साझा लाल्टिन संवाददाता

काठमाडौं – ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फका मतपत्र समानुपातिकतर्फको मतपेटिकामा भेटिएका छन्। मतगणना सुरु गर्नुअघि हराएको मानिएका ती मतपत्र समानुपातिकतर्फको बाकस खोल्दा फेला परेका हुन्।

यहाँ प्रत्यक्षतर्फको प्रतिस्पर्धा अत्यन्त झिनो अन्तरमा टुंगिएको थियो। नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  विश्वराज पोखरेल  निर्वाचित भएका छन्।

झिनो अन्तरले हारजित भएको अवस्थामा हराएका मतपत्र समानुपातिकको बाकसमा भेटिएपछि परिणाम नै फेरिन सक्ने अवस्था देखिएको थियो। तर अब भने ती मतपत्रले परिणाममा कुनै असर नपर्ने भएको छ।

यहाँका सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेका अनुसार मतगणना सुरु गर्नुअघि नै सर्वदलीय सहमतिमा मुचुल्का तयार गरी प्रत्यक्षतर्फका मतपत्र समानुपातिकतर्फको मतपेटिकामा भेटिएमा बदर गर्ने निर्णय गरिएको थियो। सोही सहमतिअनुसार ती मतपत्र बदर गरिएका छन्।

यसअघि प्रत्यक्षतर्फको मतगणना सकिँदा प्रत्यक्षतर्फको बाकसमा मुचुल्कामा उल्लेख भएकोभन्दा १८८ मत कम भेटिएको भन्दै कांग्रेस उम्मेदवार लुइँटेलले आपत्ति जनाएका थिए। अहिले ती मतपत्र समानुपातिकतर्फको बाकसमा भेटिए पनि सर्वदलीय सहमतिअनुसार बदर गरिएकाले अन्तिम परिणाम भने यथावत रहने भएको छ।

प्रतिक्रिया