कुकुर लगाएर बाँदरलाई यातना दिँदै हत्या गर्ने युवक पक्राउ

साझा लाल्टिन संवाददाता

२७ फागुन,काठमाडौं - ताप्लेजुङमा बाँदरलाई अमानवीय तरिकाले यातना दिँदै हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बाँदरलाई कटेरोमा थुनेर कुकुर लगाएर टोकेर मार्ने तथा लाठीले हिर्काउने जस्ता क्रूर गतिविधिमा संलग्न रहेको आरोपमा २१ वर्षीय सङ्गम (संयोग) हेम्ब्यालाई पक्राउ गरिएको हो। उनी पाँचथरको हिलिहाङ गाउँपा

लिका–२ सिहपुरका स्थायी बासिन्दा भए पनि हाल ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बमा बस्दै आएका थिए।

प्रहरीका अनुसार उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना र कारबाहीको माग उठेपछि उनलाई नियन्त्रणमा लिइएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो घटना प्रतिनिधिसभा निर्वाचनअघि भएको थियो। खेतबारीमा बाली जोगाउन राखिएको पासोमा बाँदर परेपछि तिनलाई कुकुर लगाएर मारिएको देखिएको भिडियो सार्वजनिक भएको थियो।

वन्यजन्तुविज्ञ लक्ष्मण खनालका अनुसार भिडियोमा देखिएको बाँदर सामान्य रातो बाँदर नभई “आसामी वा पहरे बाँदर” हो। “यो कालो रङको, आकारमा ठूलो र पहरामा बस्ने प्रजाति हो, जुन सानो समूहमा बस्ने गर्छ र पूर्ण रूपमा संरक्षित वन्यजन्तुमा पर्छ,” उनले बताए।

कानुनी रूपमा यस्तो कृत्य गम्भीर अपराध मानिन्छ। वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तु मार्ने व्यक्तिलाई ५ देखि १५ वर्षसम्म कैद, जरिवाना वा दुवै सजाय हुन सक्छ।

यद्यपि सरकारले अघिल्लो महिना मात्रै जंगली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ। यसले किसानलाई बाली नष्ट गर्ने बाँदरलाई धपाउन वा नियन्त्रण गर्न अनुमति दिन्छ, तर आफूखुसी मार्न भने पाइँदैन।

वन विभागका अनुसार यदि मारिएको अवस्थामा भेटिएमा तुरुन्त सूचना दिनुपर्ने हुन्छ र मृत जनावरलाई व्यक्तिगत प्रयोग गर्न वा अन्य जनावरलाई खुवाउनसमेत पाइँदैन।

वन्यजन्तु सम्बन्धी कानुनअनुसार अनधिकृत रूपमा वन्यजन्तुको हत्या, नियन्त्रण वा व्यापार गर्नु अपराध भएकाले यस घटनामा कानुनी कारबाही हुन सक्ने बताइएको छ।

प्रतिक्रिया