२० माघ, काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी घोषणा पत्रको मस्यौदा अन्तिम चरणमा पुर्याएको छ। पार्टीले घोषणा पत्रलाई केही दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
घोषणा पत्र लेखन समिति नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठन गरिएको हो। समितिमा देव गुरुङ, प्रमेश हमाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, राजेन्द्र श्रेष्ठ, शक्ति बस्नेतलगायत २५ जना नेताहरू सहभागी छन्।
समितिका सदस्य प्रमेश हमालका अनुसार मस्यौदा लगभग तयार भइसकेको छ र केही विषयगत समायोजनपछि एक साताभित्र सार्वजनिक गरिनेछ। उनका अनुसार घोषणा पत्र समुदायमा आधारित समाजवाद, सुशासन, रोजगारी, उत्पादन र पर्यटन विकासलाई मुख्य एजेन्डा बनाएर तयार गरिएको छ।
‘मस्यौदा बनिसकेको छ, केही विषय मिलाउन बाँकी छ,’ हमालले भने, ‘जेनजी विद्रोहको भावनालाई समेत समेटेर अन्तिम रूप दिइँदैछ।’
पार्टी संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले पनि सुशासन, उत्पादन वृद्धि र रोजगारी सृष्टिलाई केन्द्रमा राखेर घोषणा पत्र आउने स्पष्ट पारेका छन्। भ्रष्टाचारविरुद्ध कडा अभियान, देशभित्रै रोजगारी सिर्जना र वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काउने वातावरण निर्माण गर्ने प्रतिबद्धता घोषणा पत्रको मूल आधार हुने उनको भनाइ छ।
प्रचण्डका अनुसार घोषणापत्रमा समुदायमा आधारित समाजवादको कार्यान्वयन, कृषिमा आधुनिकीकरण, ऊर्जा क्षेत्रमा क्रान्ति, स्थानीय तहबाट पर्यटन पूर्वाधार विकास, भौतिक पूर्वाधारमा तीव्रता र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणका विषय समेटिएका छन्।
मस्यौदा समितिका अर्का सदस्य राजेन्द्र श्रेष्ठले जेनजी पुस्ताले उठाएका मुद्दालाई सम्बोधन गर्ने गरी घोषणा पत्र तयार पारिएको जानकारी दिए। उनका अनुसार घोषणापत्र अन्तिम स्वीकृतिका लागि संयोजक प्रचण्डसमक्ष पेश गरिएको छ।
‘यस पटकको घोषणा पत्र विगतको भन्दा फरक र धारिलो छ,’ श्रेष्ठले भने, ‘जेनजी आन्दोलनले उठाएका पहिचान, समावेशिता र शासन प्रणालीका मुद्दा हामीले पहिलेदेखि उठाउँदै आएको विषय हो। त्यसैले जेनजीको असल अभिभावक हामी हौँ भन्ने सन्देश घोषणापत्रमा स्पष्ट देखिन्छ।’