झापा जिल्ला प्रशासन कार्यालयले मतदातालाई कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने हो भन्ने प्रश्न गर्न नपाउने निर्णय गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र अनलाइन माध्यममार्फत मतदाताको गोपनीयता भंग भइरहेको भन्दै यस्तो कार्य रोक लगाइएको जनाएका छन्।
विज्ञप्तिमा फेसबुक, युट्युब लगायतका माध्यमबाट मतदातासँग मतदान रोजाइबारे प्रश्न गर्नु निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) विपरीत भएको उल्लेख छ। सूचना जारी भएपछि पनि यस्तो कार्य गरेमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने प्रशासनले चेतावनी दिएको छ।
02 February 2026