काठमाडौं ३ साउन - गोकुल बास्कोटाले पार्टीमा देखिएको विवाद मिलाउनका लागि विश्वासिलो आधार तयार पार्न सुझाव दिएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउने घोषणापछि एमालेमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा बोल्ने क्रममा नेता बास्कोटाले छलफल गरेर विवाद टुंग्याउन अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीलाई सुझाव दिएका छन् ।
अध्यक्ष र पूर्व राष्ट्रपतिबीचको विश्वास र सहकार्यको सम्बन्ध एमालेका साथीहरूलाई मात्र होइन, दुनियाँलाई थाहा छ, उनले भने, ‘तपाईंहरू आपसमा छलफल गरेर राजनीतिक ढंगले सुल्झाउनुस्, प्राविधिक कुराले होइन ।’ उनले समस्या समाधानका लागि दोस्रो पुस्ताका नेताहरूलाई पनि आग्रह गरे ।
‘दोस्रो पुस्ताका हौं भन्नेहरुले मिलाउने क्षमता देखाउनुस्, तपाईंहरूसँग त हामी पनि प्रतिस्पर्धा गर्न सक्षम र तयार छौं,’ बास्कोटाले भने, अहिलेको बेलामा पार्टीमा कसैले झटारो हान्ने काम नगर्न पनि उनले बैठकमा सुझाव दिएका छन् ।