काठमाडौं - प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमपूर्ण सुकुम्बासी बस्तीहरूको दीर्घकालीन समाधानका लागि सुरक्षित स्थानान्तरण आवश्यक रहेको बताएका छन्।
थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा धारणा सार्वजनिक गर्दै उनले वर्षौँदेखि दोहोरिँदै आएको बाढी समस्याको स्थायी अन्त्य गर्नुपर्नेमा जोड दिए। हरेक वर्ष बाढीका कारण नदी किनारका हजारौँ नागरिकले ज्यान जोगाउन मात्र सफल भई सम्पत्ति छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको स्मरण गराउँदै उनले यस्तो नियति अन्त्य गर्न अब ढिलाइ गर्न नहुने बताए।
उनले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नु नागरिकको अधिकार नभई सुरक्षित र व्यवस्थित बसोबास पाउनु नै मौलिक अधिकार भएको उल्लेख गरे। “अब पनि ठूलो दुर्घटना कुर्दै बस्ने कि सुरक्षित व्यवस्थापन गर्ने?” भन्दै उनले सरकारको प्राथमिकता स्पष्ट पारे।
शाहका अनुसार नदी किनारका अव्यवस्थित बस्तीहरूले ढल निकास प्रणाली निर्माणमा अवरोध पुर्याउँदा उपत्यकामा फोहोर र नदी–खोला दुर्गन्धित हुने समस्या बढ्दै गएको छ। यस्तो अवस्थामा बस्ती स्थानान्तरणले ढल व्यवस्थापनलाई समेत सहज बनाउने विश्वास उनले व्यक्त गरे।
थापाथली, गैरीगाउँ र मनोहरालगायत क्षेत्रमा रहेका बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए।
साथै, उनले देशभरका वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याइने र प्रक्रिया पूरा गरी यथाशीघ्र जग्गा वितरण गरिने प्रतिबद्धता जनाए। वर्षौँदेखि जटिल बनेको सुकुम्बासी समस्याको स्थायी समाधान वर्तमान सरकारले गर्ने उनको दाबी छ।
