विवादित घटनापछि सांसद विश्वराज पोखरेलको क्षमायाचना

साझा लाल्टिन संवाददाता

काठमाडौं - ओखलढुंगाबाट निर्वाचित  प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आफूले बोलेको संवादका विषयमा माफी मागेका छन्।

उनले जारी गरेको प्रेस विज्ञप्तिमा संघीय संसद् बैठक स्थगित भएको अवसरमा जिल्लावासीसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया तथा स्थानीय अवस्था बुझ्न आफू विभिन्न स्थानमा पुगेको उल्लेख गरेका छन्। सोही क्रममा वैशाख १ गते खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा पुगेका बेला भएको घटनाको केही अंश मात्र सामाजिक सञ्जालमा सार्वजनिक हुँदा वास्तविकता बङ्गिएको दाबी उनले गरेका छन्।

पोखरेलले विज्ञप्तिमा भनेका छन् कि घटनाको पूर्ण सन्दर्भ नदेखाई आंशिक दृश्यहरू सार्वजनिक गरिँदा गलत बुझाइ सिर्जना भएको छ। यद्यपि, सार्वजनिक जीवनमा रहेका व्यक्तिले आफ्नो बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने स्वीकार गर्दै आफ्नो अभिव्यक्तिबाट कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए त्यसप्रति उनले हृदयदेखि क्षमा मागेका छन्।

उनले आफू सधैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा अझ संयमित, जिम्मेवार र संवादमुखी भएर काम गर्ने बताएका छन्। साथै, उक्त घटनाबाट पार्टी, समर्थक, विद्यालय परिवार, स्थानीय समुदाय तथा आम जनतामा परेको असरप्रति पनि उनले क्षमा याचना गरेका छन्।

पोखरेलले आगामी दिनमा जनताको सेवा, उत्तरदायित्व र मर्यादालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया