जेल तोडेर फरार कैदी पुन : चोरीमा रंगेहात पक्राउ

साझा लाल्टिन संवाददाता

५ फागुन,काठमाडौं - मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका बारा प्रसौनी गाउँपालिका–१ का २६ वर्षीय विशाल मुखिया पुनः आपराधिक गतिविधिमा संलग्न भएको अवस्थामा नियन्त्रणमा परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोलीले फागुन ४ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार मुखिया प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरिरहेका बेला रंगेहात फेला परेका थिए। उनी यसअघि गम्भीर अपराधमा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका कैदी हुन्।

मकवानपुर जिल्ला अदालतले उनलाई किर्ते र डाका मुद्दामा ५ वर्ष ६ महिना कैद तथा एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही सजाय काट्न भीमफेदी कारागारमा रहेका मुखिया २०८२ भदौ २४ गते जेल तोडेर फरार भएका थिए। त्यसयता उनी प्रहरीको खोजी सूचीमा थिए।

पुनः चोरी अभियोगमा पक्राउ परेका मुखियामाथि हाल बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले फरार कैदी पुनः अपराधमा संलग्न देखिएकाले कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्रतिक्रिया