२१ माघ, काठमाडौं - आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले आजदेखि देशव्यापी रूपमा सुरक्षा जिम्मेवारी सम्हालेको छ। नेपाल सरकारको निर्णयअनुसार सेनाले ७९ हजार जनशक्ति परिचालन गर्दै निर्वाचन सुरक्षाको तयारी तीव्र बनाएको हो।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आजैदेखि देशभरका विमानस्थल र कारागार कार्यालयको समग्र सुरक्षा व्यवस्थापन सेनाले गर्नेछ। ती स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमित विशेष ड्युटी भने यथावत् रहनेछ।
सेनाले प्रमुख सडकहरूमा गस्तीसमेत सुरु गरेको छ। विभिन्न रणनीतिक स्थानमा सुरक्षा बेस स्थापना गरी पैदल गस्ती सञ्चालन गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए।
मतदान केन्द्र र मतगणनास्थलको सुरक्षामा भने चरणबद्ध रूपमा सेना परिचालन गरिनेछ। ती स्थानमा पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी तैनाथ हुनेछन्। त्यसपछि मात्र सेनाले तेस्रो घेराको सुरक्षा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ।
मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएपछि आजदेखि सेना परिचालन गरिएको प्रवक्ता बस्नेतले बताए।