अर्बौं खर्च भैसक्यो चुनाव स्थगित गर्न पाइँदैन, हामी विजयको तयारीमा छौं - ओली

साझा लाल्टिन संवाददाता

१० फागुन,काठमाडौं - केपी शर्मा ओलीले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा कडा अडान व्यक्त गरेका छन्। राज्यले चुनावी तयारीका क्रममा अर्बौं रुपैयाँ खर्च गरिसकेको उल्लेख गर्दै उनले अब प्रक्रिया रोक्नु वा सार्नु उपयुक्त नहुने बताएका हुन्।

उनका अनुसार निर्वाचन स्थगित गराउन अझै पनि विभिन्न तहबाट प्रयास भइरहेको सूचना आफूहरूलाई प्राप्त भइरहेको छ। तर आफ्नो दल कुनै द्विविधामा नपरी स्पष्ट रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको उनले दाबी गरे। “हामी अब कुनै अन्योलमा पर्दैनौं, जित सुनिश्चित गर्ने तयारीमा केन्द्रित हुन्छौं,” उनले भने।

ओलीले विगत आधा वर्षसम्म सहमति र समझदारीका लागि पहल गर्दा पर्याप्त चासो नदिइएको तर अन्तिम समयमा आएर निर्वाचन नै नहुने चर्चा उठाउनु गैरजिम्मेवार कदम भएको टिप्पणी गरे। उनका अनुसार राज्य र उम्मेदवार दुवैले ठूलो आर्थिक लगानी गरिसकेपछि पछाडि फर्किने अवस्था छैन।

यस क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी माथि कडा प्रहार गर्दै त्यसलाई अस्थायी उत्साहमा चलेको शक्ति बताए। “सानो भाँडोमा ठूलो आगो बाल्दा दुध उम्लिएजस्तै अस्वाभाविक उफ्रिएको अवस्था देखियो,” उनले कटाक्ष गरे।

उनले केही समूहहरू पराजयको संकेत देखेपछि उत्तेजनात्मक गतिविधिमा उत्रिएको आरोप लगाए। अरूका झण्डा जलाउने, अनावश्यक विवाद सिर्जना गर्ने र राजनीतिक वातावरण बिथोल्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिमा नकारात्मक असर पार्ने उनको चेतावनी थियो।

प्रतिक्रिया