२१ माघ, काठमाडौं - नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी रिटमा सर्वोच्च अदालतले ढिलाइ गरेर देशलाई अनिश्चिततामा धकेलेको आरोप लगाएका छन्। काठमाडौं उपत्यकाका १५ उम्मेदवारसँगको संवादमा उनले अब सर्वोच्चले पन्छिन नपाउने चेतावनी दिए।
पेसी पटक–पटक सारिँदा न्यायमाथि नै गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले प्रधानन्यायाधीशको भूमिकामाथि तीव्र आक्रोश व्यक्त गरे। ‘लाग्दै नलागेको रोग लागेर बेपत्ता हुने, फोन अफ गर्ने र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिले देश वैदेशिक आक्रमणजस्तै अवस्थामा पुगेको छ,’ उनले भने।
उनका अनुसार समस्या एउटा मुद्दासम्म सीमित छैन, पूरै न्यायिक प्रणाली नै संकटमा छ। ‘सर्वोच्च, उच्च, जिल्ला अदालत—सबैतिर आगो सल्किएको अनुभूति भइरहेको छ,’ बस्नेतको आरोप छ।
संसद् पुनर्स्थापना भए चुनावका नाममा भएका तयारी, गतिविधि र करोडौँ खर्च खेर जाने भन्दै उनले तत्काल फैसला अनिवार्य भएको बताए। सर्वोच्चमा मुद्दा अड्किएकै कारण दलहरू ढुक्कसँग चुनावी प्रक्रियामा जान नसकेको उनको भनाइ छ।