२५ फागुन,काठमाडौं - प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ। हालसम्म गणना भएको ८८ लाख ४८ हजार १४८ मतमध्ये उक्त पार्टीले तीन लाख आठ हजार ६५६ मत हासिल गरेको छ, जुन कुल गणना भएको मतको करिब साढे तीन प्रतिशत हो।
समानुपातिक प्रणालीमा प्रतिनिधिसभा सिट प्राप्त गर्न कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत आवश्यक पर्ने व्यवस्था छ। सो आधारमा श्रम संस्कृति पार्टी सिटको दौडमा बलियो अवस्थामा देखिएको छ।
यसैबीच, श्रम संस्कृतिलाई पछ्याउँदै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९० हजार ७१ मत प्राप्त गरेको छ।
अन्य प्रमुख दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४२ लाखभन्दा बढी मत ल्याएको छ भने नेपाली कांग्रेसले १४ लाख, नेकपा एमालेले १२ लाख र नेपाली कम्युनिष्ट पार्टीले ६ लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन्।
प्रत्यक्षतर्फ भने श्रम संस्कृति पार्टीले तीन सिट जितिसकेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ, आरेन राई र ध्रुवराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। यस्तै, इलाम–१ मा पनि श्रम संस्कृति पार्टीका उम्मेदवार दोस्रो स्थानमा प्रतिस्पर्धामा रहेका छन्।