२८ पुस, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको वर्तमान आन्तरिक परिस्थिति अझै परिपक्व नभएको भन्दै भृकुटीमण्डप नजाने स्पष्ट संकेत दिएका छन्। आफ्ना निकट नेताहरूसँगको छलफलमा उनले ‘दबाबमा, अस्पष्ट एजेन्डामा र नेताहरूबीच सहमति नबनी’ भृकुटीमण्डप जानु राजनीतिक रूपमा गलत हुने बताएका हुन्।
उनका अनुसार केही नेताहरूले भृकुटीमण्डप पुग्न सुझाव दिए पनि आफूले त्यो प्रस्ताव अस्वीकार गरिसकेका छन्। कोइरालाले नेतृत्व चयनदेखि भावी संरचनासम्मका सबै विषय लिखित रूपमा स्पष्ट नगरी अघि बढ्न नसकिने अडान लिएका छन्।
‘म जान्नँ भनेर सभापति, कार्यवाहक सभापति र गगन–विश्वदेखि गुरु घिमिरेसम्म सबैलाई भनिसकेको छु। कुन नेतृत्व, कुन संरचना, कुन प्रक्रिया भनेर लिखित रूपमा नआएसम्म म उपस्थित हुँदैनँ,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
उनले आफू एक्लै गएर केही पनि नहुने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि सहभागी गराउने वातावरण गगन थापा र विश्वप्रकाश शर्माले बनाउनुपर्ने दबाब दिएका छन्।
त्यसैगरी सभापति शेरबहादुर देउवा भृकुटीमण्डप जानु उपयुक्त नहुने आफ्नो ‘राजनीतिक रिडिङ’ रहेको पनि उनले बताएका छन्। देउवाको सट्टा खड्कालाई अगाडि सारेर सहमतिको बाटो खोल्नुपर्ने उनको तर्क छ।
‘म एग्रेसिभ देखिन सक्छु, तर म सबैसँग समन्वयमै छु। पार्टी यसरी हतारमा धकेलिनु हुँदैन,’ कोइरालाको भनाइले कांग्रेसभित्र बढ्दो शक्ति संघर्ष र नेतृत्वको द्वन्द्वलाई झनै सतहमा ल्याएको छ।