विद्यालयमै प्रधानाध्यापकमाथि हातपात, दुई शिक्षक पक्राउ

साझा लाल्टिन संवाददाता

१४ वैशाख, काठमाडौं

सङ्खुवासभाको मादी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, च्याङरीङमा प्रधानाध्यापक र शिक्षकबीच भएको विवादले उग्र रूप लिँदा कार्यकक्षमै हातपात भएको छ।

५४ वर्षीय प्रधानाध्यापक डम्मरुप्रसाद दाहालमाथि विद्यालयमै आक्रमण भएको घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका शिक्षक ५५ वर्षीय सोमनाथ दाहाल र ५४ वर्षीया लेखा कर्मचारी लेखकुमारी भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार वैशाख ९ गते विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिने क्रममा शिक्षक प्रतिनिधि छनोटबारे विवाद चर्किएको थियो। सोही विषयले पछि तनावको रूप लिँदै प्रधानाध्यापकको कार्यकक्षमै झडप भएको बताइएको छ।

घटनाका क्रममा निर्णयसम्बन्धी कागजातहरू समेत च्यातिएको प्रहरीले जनाएको छ।

घटनाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले कडा आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ। संगठनका जिल्ला अध्यक्ष कृष्णबहादुर चापागाई र सचिव टेकबहादुर रायद्वारा जारी विज्ञप्तिमा यस्ता गतिविधि रोक्नुपर्ने र समस्याको समाधान संवादमार्फत गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठन मादी नगर समितिले पनि घटनाको कडा निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय चैनपुरको हिरासतमा राखी ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया