१४ वैशाख, काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको चर्चा चलिरहँदा कूटनीतिक गतिविधि तीव्र बन्न थालेका छन्। औपचारिक निम्तो हस्तान्तरणका लागि भारतले आफ्ना विदेश सचिव विक्रम मिश्री लाई आगामी दुई साताभित्र काठमाडौं पठाउने तयारी गरेको बताइएको छ।
यसअघि नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन्द्र शाहलाई बधाई सन्देशसँगै भ्रमणको निम्तो पठाइसकेका थिए। अब उक्त निम्तोलाई औपचारिकता दिन उच्चस्तरीय कूटनीतिक पहल अगाडि बढाइएको हो।
मिश्रीको सम्भावित नेपाल भ्रमणपछि द्विपक्षीय संवादलाई थप सक्रिय बनाउने तयारीस्वरूप नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको नयाँ दिल्ली भ्रमण पनि चाँडै हुने संकेत देखिएको छ। त्यसपछि भारतका विदेशमन्त्री एस. जयशंकर नेपाल आउने सम्भावना पनि उच्च मानिएको छ।
यद्यपि, प्रधानमन्त्री शाहले हालसम्म विदेशी समकक्षीभन्दा तल्लो तहका अधिकारीसँग व्यक्तिगत भेटघाट नगर्ने नीति लिएको देखिन्छ। उनले प्रधानमन्त्री बनेपछि काठमाडौंस्थित राजदूत तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिसँग सामूहिक भेट मात्रै गरेका छन्।
यही कारणले गर्दा हालै नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कुपरले प्रधानमन्त्रीसँग भेट नपाई परराष्ट्र तथा अर्थमन्त्रीसँग मात्र छलफल गरेर फर्किएको घटना पनि चर्चामा आएको छ।
यसै सन्दर्भमा, यदि भारतीय विदेश सचिव मिश्रीसँग पनि प्रधानमन्त्रीको प्रत्यक्ष भेट नहुने हो भने, निम्तो हस्तान्तरण परराष्ट्र सचिव अमृतबहादुर राई मार्फत् प्रधानमन्त्री कार्यालयमा पुग्ने सम्भावना देखिन्छ।
प्रधानमन्त्री शाहको कूटनीतिक शैली र भेटघाटको मापदण्डले नेपाल–भारत सम्बन्धमा नयाँ अभ्यासको संकेत दिएको भए पनि यसले परम्परागत कूटनीतिक अपेक्षामा केही असहजता सिर्जना गर्ने विश्लेषण पनि भइरहेको छ।