सामाजिक सञ्जालमा दुष्प्रचार नगर्न गृह मन्त्रालयको चेतावनी

साझा लाल्टिन संवाददाता

काठमाडौं — गृह मन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा रणनीति र तयारीबारे छलफल गरेको छ।

बैठकमा गृह तथा रक्षा मन्त्रालयका सचिवहरू, चारवटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधि सहभागी थिए। एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जिम्मेवार निकायहरूले गरिरहेका कार्य, जनशक्ति परिचालन र बन्दोबस्तीको समीक्षा बैठकमा गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

सामाजिक सञ्जालमा हुने दुष्प्रचार नियन्त्रण गर्न कडा निगरानी गर्ने र उल्लङ्घन भए कडाइका साथ कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ।

सुरक्षा निकायहरूले आफ्नो तयारी, सुरक्षा चुनौती र समन्वयका उपायहरू बैठकमा प्रस्तुत गरेका थिए। बैठकले सबै जिल्ला सुरक्षा समितिहरूलाई निर्वाचन कार्यक्रमका क्रममा सुरक्षा सुनिश्चित गर्न सक्रिय बनाउने र राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार प्रसार कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने निर्देशन पनि दिएको छ।

प्रतिक्रिया