कांग्रेसभित्र सदस्यता विवाद चुलियो, इतर समूह आक्रोशित

साझा लाल्टिन संवाददाता

३० चैत,काठमाडौं,

नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै पनि नेताले व्यक्तिगत आवेग वा भाषणका आधारमा खारेज गर्न नसक्ने स्पष्ट पारेको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता पार्टीको सामान्य प्रशासनिक विषय नभई ऐतिहासिक र राजनीतिक योगदानसँग जोडिएको विषय भएको बताएका छन्। उनका अनुसार पञ्चायती कालमा जोखिम मोलेर प्राप्त गरिएको पार्टी सदस्यता कुनै नेताको मनोमानी निर्णयबाट हटाउन सकिने कुरा होइन।

इतर समूहले सदस्यता केवल पार्टी आबद्धताको प्रमाण मात्र नभई लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र शहीदहरूको योगदानसँग जोडिएको ऐतिहासिक दस्तावेज भएको दाबी गरेको छ। खड्काका अनुसार महाधिवेशनले वैधानिक व्यवस्था नगरेसम्म आम सदस्यहरूको सदस्यता खारेज गर्ने अधिकार कुनै एक व्यक्तिसँग हुँदैन।

समूहले पार्टीको १५ औं महाधिवेशन तोकिएको कार्यतालिका अनुसार नै सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ। यसअघि १५ माघमा बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको थियो, तर निर्धारित समयमा महाधिवेशन हुन सकेन।

पार्टीभित्र नियमित र विशेष महाधिवेशनको विषयलाई लिएर फरक–फरक धारणा देखिँदै आएको छ। संस्थापन पक्ष र महामन्त्री गगन थापा समूहबीच निर्वाचन अगाडि वा पछि नियमित महाधिवेशन गर्ने विषयमा मतभेद रहँदै आएको थियो।

त्यसपछि थापा समूहले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति गठन गरेको दाबी गरेको छ, जसले पार्टी नेतृत्व संरचनामा थप विवाद सिर्जना गरेको छ।

यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सम्बन्धी पक्राउ विरोधमा खड्काले पहिले विज्ञप्ति जारी गरेका थिए, जसपछि अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरे कारबाही प्रक्रिया अघि बढ्ने चेतावनी दिएको थियो।

कांग्रेसभित्र नेतृत्व, महाधिवेशन तालिका र सदस्यता व्यवस्थापनलाई लिएर विवाद चुलिँदै जाँदा संस्थापनइतर समूहले विधान र ऐतिहासिक परम्परालाई आधार मानेर निर्णय गर्नुपर्ने अडान दोहोर्याएको छ।

प्रतिक्रिया