काठमाडौँ १८ जेठ - माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लामो समय शासन गर्ने राजाहरूका नकारात्मक पाटो नयाँ पुस्ताले थाहा पाउनुपर्ने बताएका छन् । आइतबार योङ कम्युनिस्ट लिगको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजाहरू नै बलात्कारी र हत्यारा भएको आरोप लगाएका हुन् ।
अध्यक्ष दाहालले नारायणहिटी दरबार हत्याकाण्ड के हो भन्नेकुरा सबैलाई स्पष्ट रहेको समेत बताए । नमिता, सुनिताको बलात्कार गरेर हत्या गर्ने राजा र राजाका भाइहरू नै भएको आरोप उनको छ । राजाहरूले नै मूर्ति चोरेर विदेशमा पुर्याउने गरेको आरोप लगाउँदै तस्करीका नाइके पनि तत्कालीन राजाहरू नै भएको उनले बताए ।
‘जनताको मन मस्तिष्कमा त छ, नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा । तर हामीले अलि राम्रोसँग भन्न छोडेका छौँ अहिले । अनि एकथरी नयाँ युवाहरूलाई थाहा छैन । शान्ति सम्झौतापछि जन्मिएर अब भोट हाल्ने उमेर भएका युवाहरूलाई त राजाले के गरे ? नमिता, सुनिता हत्याकाण्ड बलात्कार गरेर राजाका भाइहरू र राजाहरूले नै गरेको भन्नेकुरा उनीहरूलाई थाहा छैन । त्यो तपाईं हामीले भनिदिनुपर्ने हुन्छ । यिनै त हुन्, हत्यारा र बलात्कारी भनेका,' अध्यक्ष दाहालले भने ।
२५० वर्षसम्म शासन गरेर पनि राजतन्त्रले केही नदिएको अध्यक्ष दाहालको भनाइ छ । उनले अगाडि भने, 'नारायणहिटी हत्याकाण्ड के हो ? भन्ने कुरा भन्न छाडेका थियौं । तर, राजा भनेका हत्यारा र बलात्कारी हुन् । मूर्ति चोरेर विदेश पुर्याउने पनि यिनै हुन् । तस्करहरू को हुन् ? नारायणहिटी दरबार हत्याकाण्डका नाइके को हुन् ? भनेर जनतालाई अब बुझाउने समय आएको छ ।'