इटहरीको समस्याग्रस्त अम्बे कोशी सहकारीबाट बचत फिर्ता सुरु

साझा लाल्टिन संवाददाता

३० चैत,काठमाडौं,

लामो समयदेखि समस्याग्रस्त बनेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले अन्ततः राहत पाउन थालेका छन्। कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यहरूको रकम फिर्ता गर्न सुरु गरेको हो।

समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार पहिलो चरणमा २८७ जना साना बचतकर्ताको २८ लाख ५७ हजार रुपैयाँ सीधै बैंक खातामा पठाइएको छ। बचत फिर्ताको यो प्रक्रिया साना बचतकर्तालाई प्राथमिकतामा राखेर अघि बढाइएको उनले बताए।

प्रदेश सरकारले सहकारीको व्यवस्थापन जिम्मा लिएपछि लगानी गरिएको ऋणमध्ये हालसम्म १ करोड ८७ लाख रुपैयाँ असुली भइसकेको छ। यद्यपि सहकारीबाट अझै ४२ करोड ६० लाख रुपैयाँभन्दा बढी ऋण उठाउन बाँकी रहेको बताइएको छ।

बचत फिर्ताका लागि समितिमा हालसम्म २४ करोड ८८ लाख रुपैयाँ बराबरको निवेदन परेको छ। समितिका सदस्य जीवन काफ्लेका अनुसार ऋणीहरूबाट रकम असुलीको काम तीव्र पारिएकाले अब १ लाख रुपैयाँसम्मका बचतकर्तालाई पनि दोस्रो चरणमा रकम फिर्ता गर्ने तयारी भइरहेको छ।

उनले आवश्यक परे सहकारी र सञ्चालकहरूको सम्पत्ति लिलाम गरेर समेत बचत फिर्ता गरिने स्पष्ट पारे।

कोशी प्रदेश सरकारले २०८१ पुस २३ गते अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसयता सरकारी समितिले सम्पत्ति व्यवस्थापन, ऋण असुली तथा धितो लिलाम प्रक्रिया अघि बढाउँदै आएको छ।

कोशी सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले प्रदेश सरकारको पहलमा नेपालमै पहिलो पटक समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने काम सुरु भएको दाबी गरे। उनका अनुसार पहिलो चरणपछि एक लाख रुपैयाँभन्दा कम बचत भएका सदस्यको रकम पनि छिट्टै फिर्ता गरिनेछ।


प्रतिक्रिया