२ वैशाख, काठमाडौं,
गण्डकी प्रदेश सभामा बागलुङ क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित सदस्य द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सभामुखलाई सम्बोधन गर्दै औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
२०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा विजयी भएका कुँवरले आफ्नो राजनीतिक यात्रामा साथ दिने मतदाताप्रति आभार व्यक्त गरेका छन्।
राजीनामा पत्रमा उनले स्पष्ट कारण उल्लेख नगरे पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको क्याबिनेट पुनर्गठनमा मन्त्री बन्ने अपेक्षा पूरा नभएपछि उनले असन्तुष्ट कदम चालेको चर्चा छ। बुधबार गरिएको मन्त्रिपरिषद् हेरफेरमा मन्त्रीका प्रबल आकांक्षी मानिएका कुँवरलाई समेटिएको छैन।
उनले सार्वजनिक पदमा नरहे पनि जनताका मुद्दा, विकास र सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
15 April 2026