काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि हिंसा नहोस् भन्ने निर्देशन दिएकी छन्।
महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा “एक थोपा पनि रगत नबग्नुपर्ने” स्पष्ट सन्देश दिइन्।
सोमबार १८ महिना लामो तालिम पूरा गरेका नेपाल प्रहरीका १८३औँ समूहका ९२ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। दीक्षितमध्ये ९ जना महिला र ८३ जना पुरुष छन्।
कार्यक्षेत्रमा प्रवेश गर्न लागेका निरीक्षकहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका कमजोरी नदोहोर्याई प्रहरीलाई अझ व्यावसायिक र निष्पक्ष बनाउने जिम्मेवारी उनीहरूको भएको उल्लेख गरिन्।
कानुन कार्यान्वयनमा शिष्टता र मानवताको आवश्यकता औँल्याउँदै उनले भनिन्, “प्रहरीको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच हो।”