बालेनको चर्चा मिडियामा मात्रै, झापा–५ एमालेकै सुरक्षित क्षेत्र : पोखरेल

साझा लाल्टिन संवाददाता

१६ माघ, काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र नम्बर–५ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चितजस्तै रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा एमाले निकट प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले झापा–५ मा एमालेका लागि कुनै किसिमको चुनावी जोखिम नरहेको दाबी गरे। उनले ओलीका प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहको चर्चा भइरहे पनि त्यसले चुनावी नतिजामा असर नपर्ने स्पष्ट पारे।

पोखरेलका अनुसार झापा–५ का मतदाता राजनीतिक रूपमा सचेत र इतिहासले खारिएका छन्। “पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि लोकतान्त्रिक संघर्षसम्म नेतृत्वदायी भूमिका खेलेका जनताले क्षणिक लोकप्रियता वा अव्यवस्थित नाराका आधारमा निर्णय लिन्छन् भन्ने हामीलाई लाग्दैन,” उनले भने।

उनले झापा–५ मा भइरहेको प्रतिस्पर्धाबारे केही सञ्चारमाध्यमले अतिरञ्जित प्रचार गरिरहेको आरोप लगाउँदै वास्तविक मताधार एमालेको पक्षमा सुरक्षित रहेको बताए। “मतदाताको आधारमा हेर्दा हामी पूर्ण रूपमा सुरक्षित छौँ, कुनै जोखिमको अवस्था छैन,” पोखरेलले जोड दिए।

एमाले संस्थागत र व्यवस्थित पार्टी भएको उल्लेख गर्दै उनले यो निर्वाचनलाई पनि पार्टीले संगठित रूपमा अघि बढाइरहेको बताए।

महासचिव पोखरेलले निर्वाचन आयोगले उम्मेदवारी दर्ताको कार्यक्रम प्रचार अभियान सुरु हुनुअघि नै सार्वजनिक गरेको तर आचारसंहिताका कारण हाल प्रचार गतिविधि अघि बढ्न नसकेको जानकारी दिए। “निर्धारित समय सुरु भएपछि मात्रै प्रचार अभियान सुरु हुन्छ,” उनले भने।

उनका अनुसार एमालेले आगामी फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया