काठमाडौँ १३ साउन - नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीबारे उठेको भ्रम र तथ्यलाई गहिरो गरी बुझ्न आग्रह गरेका छन् ।
उनले दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती भइरहेको उल्लेख गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा एक अपिल जारी गर्दै उनले यस्तो प्रचार गर्नेहरूप्रति सचेत हुन आग्रह गरेका छन् ।
गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठकपश्चात केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गर्नुपर्ने बताएका छन् । जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने शर्माले बताएका छन् ।
पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमतिपश्चात् गिरेको पार्टीको शाखलाई पुन: माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हौं, शर्माले लेखेका छन् ।
यतिबेला सिङ्गै देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका शर्माले उल्लेख गरेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै रहेको शर्माले बताएका छन् ।
अर्थतन्त्रको पुनर्संरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादोन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानक स्थापित गर्न मद्दत गर्ने शर्माले बताएका छन् ।
‘यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ । आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ’, शर्माले लेखेका छन्, ‘देशमा बढ्दै गएको कुशासन, कानून निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरूप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने छ ।’
संविधान संशोधनले शासकीय स्वरूप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डामा राष्ट्रलाई एकताबद्ध गर्ने शर्माले लेखेका छन् ।
त्यसैगरी, विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने शर्माले बताएका छन् ।