४ माघ, काठमाडौं - नेकपा एमालेको जिल्ला कमिटी ओखलढुंगाले प्रतिनिधिसभा निर्वाचनका लागि गरेको सिफारिस विपरीत केन्द्रिय कमिटीले उम्मेदवार चयन गरेको भन्दै पार्टीका भ्रातृ तथा जनसंगठनहरूले कडा आपत्ति जनाएका छन्।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले जिल्ला कमिटीको छलफल र निर्णयलाई बेवास्ता गर्दै व्यक्तिगत आधारमा उम्मेदवार तोकिएको आरोप लगाएका हुन्।
विज्ञप्तिमा जिल्ला कमिटीको निर्णय नसच्च्याइएमा नेकपा एमाले जिल्ला पार्टी कार्यालय ओखलढुंगामा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिइएको छ। साथै उक्त निर्णय तत्काल सच्याउन केन्द्रिय नेतृत्वसँग माग गरिएको छ।
विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बिबेक तामाङ, अनेरास्ववियुका अध्यक्ष अर्जुन गिरी, अखिल नेपाल महिला संघकी अध्यक्ष पशुपति गुरुङ तथा नेपाल खेलकुद महासंघका अध्यक्ष राजकुमार राईले हस्ताक्षर गरेका छन्।
पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियामा बढ्दो असन्तुष्टिले आगामी निर्वाचनमा प्रभाव पार्न सक्ने संकेत देखिएको छ।