८ माघ, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विध्वंस र अराजकता मच्चाउने तत्वहरूलाई कुनै हालतमा उन्मुक्ति नदिइने कडा चेतावनी दिएका छन् । झापाको दमक–८ मा तत्कालीन माओवादी नेता गगन पुरीको घरमा भएको आगजनी घटनाको स्थलगत अवलोकनपछि ओलीले आपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी कठघरामा उभ्याएरै छोडिने स्पष्ट पारे ।
ओलीले अराजकताको आयु लामो नहुने उल्लेख गर्दै भने, सधैँ अराजकता टिक्दैन । एक दिन यस्ता तत्वहरू अनिवार्य रूपमा कारबाहीको दायरामा आउँछन् । उजुरी–निवेदनको प्रक्रिया अघि बढाउनुहोस्, न्याय रोकिने छैन ।
उनको भनाइलाई घटनामा संलग्नहरूका लागि खुला चेतावनीका रूपमा लिइएको छ ।
आगो लगाएर आतंक सिर्जना गर्ने प्रवृत्तिलाई उनले लोकतन्त्र र कानुनी शासनमाथिको सीधा आक्रमणको संज्ञा दिए । राजनीतिक असहमतिका नाममा घर जलाउने, त्रास फैलाउने र सम्पत्ति ध्वस्त पार्नेहरूलाई अब राज्यले छुट दिन्न,ओलीले थपे ।
नेता गगन पुरीले भने घटनासम्बन्धी सबै प्रमाण संकलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया सुरु गरिसकेको जानकारी गराए । न्याय पाउने विश्वासका साथ म कानुनी बाटोमै अघि बढेको छु, पुरीले बताए ।
पुरीको घर अवलोकनपछि ओली दमकस्थित तत्कालीन माओवादी पार्टी कार्यालयको क्षतिको निरीक्षण गर्दै गौरादहतर्फ प्रस्थान गरेका छन् ।
झापामा बढ्दो हिंसात्मक गतिविधिप्रति गम्भीर संकेत गर्दै ओलीको यो अभिव्यक्ति अब कारबाही टार्न नसकिने सन्देशका रूपमा हेरिएको छ ।