२८ फागुन,काठमाडौं - नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो उतार–चढावबारे टिप्पणी गर्दै सुधार नगरे भविष्यमा ठूलो संकट आउन सक्ने चेतावनी दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पाँच वर्षअघि नै तत्कालीन नेकपाको उत्कर्ष र पतनको समयबारे आफूले अनुमान गरेको स्मरण गरेका छन्। वाम शक्तिहरू एकताबद्ध हुँदा जनतामा ठूलो आशा र उत्साह देखिए पनि वैचारिक, संगठनात्मक र व्यवहारिक आधार कमजोर भएकाले त्यो एकता टिक्न नसकेको उनको विश्लेषण छ।
बास्कोटाका अनुसार एकता हुँदा देखिएको उत्साह दीर्घकालीन बन्न सकेन, किनकि नेतृत्व तहमा स्पष्ट वैचारिक मार्गदर्शन र संगठनात्मक अनुशासनको अभाव थियो। उनले त्यसबेला भनेको कुरा दोहोर्याउँदै लेखेका छन् कि वाम एकताको जग मजबुत नभएकै कारण त्यसको पतन अनिवार्यजस्तै बनेको थियो।
तत्कालीन नेतृत्व शैलीप्रति संकेत गर्दै उनले विश्व कम्युनिष्ट आन्दोलनका अनुभवबाट पाठ नलिइएको आरोप पनि लगाए। विशेषगरी सोभियत संघको विघटनबाट शिक्षा नलिनु र चिनियाँको मोडलको नक्कल गर्ने प्रयास असफल भएको उनको टिप्पणी छ।
यद्यपि उनले कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त नभएको बताएका छन्। तर समयमै आत्मसमीक्षा नगरे आगामी चुनाव वा राजनीतिक चरणमा वाम शक्तिले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्।
उल्लेखनीय छ,एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा आन्तरिक विवादका कारण पछि विभाजित भएको थियो, जसपछि दुवै दल अहिले अलग–अलग रूपमा सक्रिय छन्।