प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच फोन बार्ता

साझा लाल्टिन संवाददाता

काठमाडौँ २६ साउन -भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फोन गरेका छन् । मोदीले सोमबार सामाजिक सञ्जालमार्फत जेलेन्स्कीले आफूसँग फोनमा कुरा गरेको जानकारी दिएका हुन् । 

भारतका प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन् ,राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्न र हालैका घटनाक्रमबारे उहाँको विचार सुन्न पाउँदा म खुसी छु । मैले उहाँलाई द्वन्द्वको प्रारम्भिक र शान्तिपूर्ण समाधानको आवश्यकता र यसमा भारतको अडानबारे जानकारी गराएको छु ।

उनले अगाडि लेखेका छन्, भारत यस सम्बन्धमा हरेक सम्भव योगदान दिन र युक्रेनसँग द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन प्रतिबद्ध रहेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन यही अगस्ट १५ मा अलास्कामा भेटवार्ता  गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्री मोदी र जेलेन्स्कीबीच फोनवार्ता हुनु महत्त्वपूर्ण ठानिएको छ । 

यसबीच जेलेन्स्कीले कुनै पनि हालतमा आफ्नो जमिन रुसलाई सुम्पन नसकिने अडान पनि व्यक्त गरिसकेका छन् । 

उता युक्रेनका युरोपेली सहयोगीहरूले पनि युक्रेनलाई सामेल नगरी गरिने शान्ति वार्ताको अर्थ नहुने चेतावानी दिइरहेका छन् । 

प्रतिक्रिया